दफा
ऋणपत्रको नामसारी

(१) स्टकको धनीले स्टकको नामसारीको लागि बैङ्क समक्ष लिखित निवेदन दिएमा बैङ्कले तोकिएबमोजिम स्टकको नामसारी गरिदिनु पर्नेछ ।

(२) प्रमिशरी नोटको धनीले प्रमिशरी नोट जसका नाममा दरपीठ गरिदिएको हो बैङ्कले त्यस्तो व्यक्तिको नाममा सो प्रमिशरी नोट नामसारी भएको मानी सो व्यक्तिलाई सो प्रमिशरी नोटको धनी मान्नेछ ।

(३) स्टकको धनीको मृत्यु पश्चात्ऋणपत्रमा हक पुग्ने गरी धनीले कसैलाई इच्छाएको भएमा त्यस्तो ऋणपत्रको सम्बन्धमा धनीको मृत्युपछि सो इच्छाइएको व्यक्ति मृतक धनीको हकवाला हुनेछ । त्यसरी धनीले कुनै इच्छाइएको व्यक्ति नभएमा वा इच्छाइएको व्यक्तिको पनि इच्छाउने व्यक्तिको भन्दा पहिले नै मृत्यु भैसकेको रहेछ भने सो ऋणपत्रमा अपुताली सम्वन्धी प्रचलित कानून बमोजिमको हकवालाको हुनेछ ।

(४) कुनै ऋणपत्र दुई वा दुईभन्दा बढी व्यक्तिहरूले संयुक्त रूपमा खरिद गरी राखेको भएमा तिनीहरूमध्ये कसैको वा सबैको मृत्यु भएमा मृतकको हिस्सामा आउने सो ऋणपत्रको साँवा ब्याजको अधिकार मृतक व्यक्तिले इच्छाएको कुनै व्यक्ति भए सो व्यक्ति र कुनै व्यक्ति इच्छाएको नभए अपुताली सम्बन्धी प्रचलित कानून बमोजिमको हकवालाको हुनेछ ।